दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
पहिले खेल तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएकामा शुक्लागण्डकीले विजयी सुरुवात गरेको छ । शुक्लागण्डकीले सोझो ३–० सेटमा व्यासलाई पराजित गरेको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए।
कास्कीको माछापुच्छ«े गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिकाबीच भएको दोस्रो खेलमा ३–१ सेटमा घिरिङ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु दुई लाख, द्वितीय हुनेले रु एक लाख, तृतीय हुनेले रु ५० हजार र सान्त्वना हुनेले रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा गण्डकी प्रदेशका १३ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, डिफेन्टर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा शुक्लागण्डकीका दुई जना पुराना खेलाडीलाई सम्मान गरिएको छ । श्यामकाजी रिजाल र रमेश केसीलाई सम्मान गरिएको हो । साथै भिम तिमिल्सिना, राजन भुजेल र शिवशङ्कर महतलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुनेछ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रबद्र्धन, शुक्लागण्डकी महोत्सव कला सीप र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ जारी महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक एवम् झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवम् मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । महोत्सव अवधिभर दुई लाख दर्शकको सहभागिता र करिब रु पाँच करोड बराबरको कारोवार हुने महोत्सव संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।