विस्तारै विकास र समृद्धिको श्वास फेर्दै धरमपानीवासी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    विस्तारै विकास र समृद्धिको श्वास फेर्दै धरमपानीवासी

    अमिर गुरुङ

    १० फाल्गुन २०८१, आईतवार

    बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानी, जहाँ वर्षौँसम्म विकासका नाममा आश्वासन मात्र बाडियो, तर वास्तविक परिवर्तन भने देखिएन। अप्ठ्यारो भूगोल, साँघुरा गोरेटोहरू र सडक अभावका कारण यहाँका बासिन्दाले दशकौँसम्म कठिन यात्रा गर्न बाध्य भए। विद्यालय पुग्न होस् या बिरामीलाई अस्पताल पुर्याउन, समयसँगै संघर्ष गरिरहनु धरमपानीको नियति बनिसकेको थियो। तर, अहिले परिवर्तनको हावा बहन थालेको छ। संघीय, प्रादेशिक र स्थानीय सरकारको सक्रिय लगानीमा दशौँ करोड रुपैयाँको लागतमा सडक निर्माण कार्यले निरन्तरता पाएको छ।

    यी सडकहरू केवल सिमेन्ट, गिट्टी र डोजरका साधारण संरचना मात्र होइनन्; यी आशाका बाटाहरू हुन्। यी बाटाहरूले विद्यालय पुग्ने बालबालिकाका पाइला छोट्याएका छन्, किसानका उत्पादनलाई बजारसम्म पुर्याउने अवसर दिलाएका छन् र बिरामीलाई घण्टौँको पैदलयात्राबाट मुक्ति दिलाएका छन्। यहाँका वृद्धहरूले सपना देखेका थिए—एकदिन धरमपानी पनि सहरसँग जोडिनेछ। त्यो सपना अब बिस्तारै साकार बन्दैछ। कहिल्यै गाडी नपुगेका गाउँमा अहिले निर्माणाधीन सडकमा टिप्पर र ट्रयाक्टर गुड्न थालेका छन्। गाउँका युवाहरूलाई कामको खोजीमा बाहिर धाउनुपर्ने बाध्यता विस्तारै घट्दैछ। व्यापार, कृषि र पर्यटनका सम्भावनाहरू जाग्दैछन्। ढुंगा-माटोको बाटो हुँदै सहरका सपनाहरू बोकेर हिंड्ने ती आमाहरूको आँखामा अहिले खुसीको चमक देखिन्छ।

    अब धरमपानीबाट दिनहुँ बन्दीपुर हुँदै डुम्रेसम्म जानका लागि साना जिपहरूमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने दिनको अन्त्य भएको छ। यस क्षेत्रमा सार्वजनिक यातायातको अभावलाई महसुस गर्दै बन्दीपुर वडा नं. ४ निवासी नरेश श्रेष्ठले नयाँ बस सेवा सञ्चालनमा ल्याएका छन्। उक्त बस बिहान ७:३० बजे धरमपानी वडा कार्यालयबाट डुम्रेतर्फ प्रस्थान गर्छ र फेरि दिउँसो ३:३० बजे डुम्रेबाट धरमपानी फर्किन्छ। झन् राम्रो पक्ष त के छ भने, बसको भाडादर पनि जिपको तुलनामा धेरै नै सुलभ छ, जसले यहाँका बासिन्दाहरूलाई आर्थिक रूपमा समेत राहत मिलाएको छ।

    यी सम्पूर्ण कार्यहरूको सहज सञ्चालनका लागि बन्दीपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, स्वकीय सचिव अमिर गुरुङ्ग तथा वडा नं. ६ का वडा अध्यक्ष बलबहादुर गुरुङको महत्वपूर्ण योगदान रहेको छ। उनीहरूको निरन्तर प्रयास र स्थानीयवासीको ऐक्यबद्धताका कारण धरमपानी अहिले यातायात सुविधा सम्पन्न बन्दै गएको छ।

    अहिले धरमपानीका बासिन्दाहरू सुरक्षित, सहज र सुलभ यात्राको अनुभव गरिरहेका छन्। विकासका यी पाइला कुनै चमत्कार होइनन्, बरु निरन्तर संघर्ष, परिश्रम र प्रतिबद्धताको परिणाम हुन्। योजनाहरू अब कागजमा मात्र सीमित छैनन्; धरमपानीले साँचो अर्थमा विकासको स्वास फेरिरहेको छ। यो विकास सहज थिएन, अझै पूरा पनि भएको छैन तर यहाँका बासिन्दाहरू समृद्ध भविष्यको ढोका खुल्दै गएको अनुभव गरिरहेका छन्।