दोस्रो म्याग्दे अध्यक्ष कप : सेमिफाइनल समिकरण पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो म्याग्दे अध्यक्ष कप : सेमिफाइनल समिकरण पूरा

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा जारी दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।

    म्याग्दे गाउँपालिका–५ छाङपाटन खेल मैदानमा साेमबार सम्पन्न क्वाटरफाइनल खेलबाट लमजुङको दोर्दी गाउँपालिका र तनहुँको बन्दीपुर गाउँपालिका सेमिफाइनल प्रवेश गरेको छ ।

    तनहुँको बन्दीपुर गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबीच भएको पहिलो खेलमा बन्दीपुर ३–० ले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । लमजुङको दोर्दी गाउँपालिका र तनहुँको व्यास नगरपालिकाबीच भएको खेलमा दोर्दी गाउँपालिका १–० ले विजयी भएको छ ।

    प्रतियोगिता अन्तर्गत मङ्गलबार सेमिफाइनल खेलहरु सञ्चालन हुने म्याग्दे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल लमजुङको दोर्दी गाउँपालिका र बन्दीपुर गाउँपालिकाबीच हुनेछ ।

    प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।

    त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने केसीले जानकारी दिए ।

    प्रतियोगितामा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको सहभागिता रहेको छ ।