दमाैली । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता विक प्रथम भएकी छन् ।
व्यास नगरपालिका, सामाजिक विकास कार्यालय, महिला सशक्तीकरण सञ्चार समाजको संयुक्त आयोजनामा शनिबार भएको प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयका छात्रा विक प्रथम भएकी हुन् ।
‘महिला र श्रम’ विषयमा आयोजित कविता प्रतियोगितामा व्यास नगरपालिका–१० निवासी लक्ष्मी तिमल्सिना पौडेल द्वितीय र शुक्लागण्डकी–३ दुलेगौंडाकी आशा पौडेल तृतीय भएका छन् ।
महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रबद्र्धन गर्ने उद्धेश्यले कविता प्रतियोगिता आयोजना गरिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, सामाजिक विकास कार्यालय प्रमुख बिदुरहरि आचार्य तथा उपप्रमुख इन्दिरा दरै लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १४ वटा कविता प्रतिस्पर्धामा रहेका थिए । प्रतियोगितामा सहभागी हुने कविताहरू महिला श्रमिक, समान काममा असमान ज्याला, श्रममा महिला र पुरुषबीचको भेदभाव, महिला अधिकार, महिला सशक्तिकरण, श्रम नीति तथा कानुन, नारी महिमा, सङ्घर्ष र योगदान लगायतका विषयमा केन्द्रित थिए ।
प्रतियोगितामा नारायण पोख्रेल, गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपाने र रुकमणी पौडेल निर्णायक रहेका थिए ।