दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाले चालेका हरेक काममा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँको आयोजना र ऑबुखैरेनीको व्यवस्थापनमा ऑबुखैरेनी-१ गिरानचौरमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा चुमानले ऑबुखैरेनीको प्रचारप्रसारका लागि सञ्चारकर्मीको महत्वपूर्ण सहयोग रहेको बताए ।
उनले भने, ‘ऑबुखैरेनीको पर्यटन प्रबर्धनका लागि सञ्चारकर्मीले डाहै लाग्ने गरी सहयोग गरिरहनुभएको छ। सञ्चारकर्मीले सहयोग नगर्नुभएको भए हामीले गरेका कामको प्रचारप्रसार हुँदैन । अरुले त त्यस्तै हो हाम्रै पार्टीका नेताले समेत सञ्चारमाध्यममै हेरेर राम्रो काम गर्नुभयो भनेर फोन आउँछ ।’
उनले ऑबुखैरेनीले प्रत्येक वडामा एउटा नमूना पर्यटकीय गाउँ बनाउने लक्ष्य राखेको बताए । गिरानचौरलाई पर्यटकीय गाउँ बनाउन ४० लाख बजेट विनियोजन गरिएको उल्लेख गरे ।
ऑबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले पालिकाले गरेका सकारात्मक कदममा सञ्चारकर्मीको सहयोगको अपेक्षा गरिएको बताइन्।
वडाध्यक्ष प्रेमबहादुर गुरुङले वडाले जनताका अपेक्षा पूरा गर्न आफूहरु लागिपरेको बताए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष विवि श्रेष्ठ, प्रेस सेन्टर नेपालका गण्डकी प्रदेश सचिव एसवि नेपाली, प्रेस युनियन तनहुँका उपाध्यक्ष पूर्ण विके लगायतले मन्तव्य राखेका थिए ।
पत्रकार महासंघले बिहीबार छिम्केश्वरीमा आयोजना गर्ने कार्यसमिति बैठकको पूर्व सन्ध्यामा जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको महासंघ सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।