मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ७८.९५ प्रतिशत भौतिक प्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ७८.९५ प्रतिशत भौतिक प्रगति

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८१, शुक्रबार

    दमाैली । मुग्लिन पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३.११ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३.११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।

    पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४.९८ र दुई लेनतर्फ ३.१५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”

    फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८.९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९.२५ प्रतिशत रहेको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २०.१६ किलोमिटर दूरीमा अन्तिम कालोपत्र समेत भइसकेको छ भने दुई लेनतर्फ १२.३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ ।

    पूर्वी खण्ड अन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ ।

    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

    विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।