समाजवादी मोर्चाले १५ चैतमा प्रदर्शन र सभा गर्ने, सरकारमाथि लगायो यस्तो आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    समाजवादी मोर्चाले १५ चैतमा प्रदर्शन र सभा गर्ने, सरकारमाथि लगायो यस्तो आरोप

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८१, शनिबार

    काठमाडौ । समाजवादी मोर्चाले यही १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । उक्त दिन काठमाडौंमा प्रदर्शनसहित सभा आयोजना गरिएको मोर्चाले जानकारी दिएको छ ।

    ‘… नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी  षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ,’ मोर्चाले भनेको छ, ‘यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशनसहितको जनसभा आयोजना गरिएको छ ।’

    मोर्चाले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैलायले जनताका अधिकारहरू एकपछि अर्को गर्दै कुण्ठित भएका उल्लेख गरेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् ।’

    मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा छ ।’

    सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित भएको पनि मोर्चाको आरोप छ । साथै सरकारले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको, अध्यादेशमार्फत सरकार चलाएको, सदन छलेको र संसदमा दर्ता भएका महत्त्वपूर्ण विद्येयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत भएको मोर्चाको आरोप छ ।

    ‘सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ,’ मोर्चाले भनेको छ ।