पोखरा, ७ चैत । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ । फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।
आवेदन दिनेमा प्राध्यापक प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला छन् ।
तनहुँको शुक्लागण्डकी घर भएका प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन भइसकेका व्यक्ति हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत लामो समय पढाएका उनी रेडक्रस लगायत सामाजिक संस्थामा क्रियाशील छन् ।
पोखरा घर भएका प्राडा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् ।
प्राडा नवराज देवकोटा गण्डकी विश्वविद्यालयकै उपकुलपति हुन् । गोरखा घर भएका उनी यसअघि रामपुर कृषि क्याम्पसमा आवद्ध थिए ।