दमाैली, ९ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीको महाधिवेशनको विषयमा द्विविधा नहुन आग्रह गरे।
महामन्त्री शर्माले कतिपय नेताहरुले पार्टीको महाधिवेशन २०८४ पछि भए राम्रो भन्ने गरेपनि त्यो भावनात्मक निर्दोष अभिव्यक्ति मात्रै भएको बताए। उनले भने, “२०८४ मा आम चुनाव हुने भएकाले कहाँ पार्टीको महाधिवेशन गर्ने भनेर भनेपनि त्यो सम्भव छैन ।” काङ्ग्रेसको विधान, देशको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट उल्लेख भएकाले बढीमा छ महिनासम्म मात्रै थप गर्न मिल्ने उनकाे भनाइ थियो ।
काङ्ग्रेसको महाधिवेशन २०७८ मा भएकाले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने नसोच्न उनले आग्रह गरे । महामन्त्री शर्माले पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने बताए।
महामन्त्री शर्माले काङ्ग्रेस बलियो हुनुपर्ने र त्यसका लागि सबैबीच एकता आवश्यक रहेको उल्लेख गरे । एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले काङ्ग्रेसलाई स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ थियो ।
शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको कानुनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। महामन्त्री शर्माले भने, “अब कानुन, प्रशासनलगायत क्षेत्रमा २० वर्ष बढी काम गरी अनुभव बटुलेका, निष्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ । मैले यो विषय राज्य व्यवस्था तथा सुशासन समितिमा उठाइरहेको छु । विस्तारै यो बहसमा आउने विश्वास छ । खुल्ला प्रतिस्पर्धाबाट आएका व्यक्तिले थप निष्पक्ष र पारदर्शी ढङ्गबाट काम गर्न सक्छन् ।”