तनहुँमा एक सय ७९ क्षयरोगी उपचारको दायरामा, १५ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एक सय ७९ क्षयरोगी उपचारको दायरामा, १५ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमौली, १२ चैत । तनहुँमा चालु आर्थिक वर्षमा एक सय ७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा जिल्लाका दशवटै पालिकामा एक सय ७९ क्षयरोगका बिरामी भेटिएका हुन् ।

    प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याव टेक्निसियन दीपक श्रेष्ठका अनुसार आँबुखैरेनी गाउँपालिकाका २०, बन्दीपुर गाउँपालिकाका १९, भानु नगरपालिकाका ११, भिमाद नगरपालिकाका छ, व्यास नगरपालिकाका ५३, देवघाट गाउँपालिकाका १५, घिरिङ गाउँपालिकाका १४, ऋषिङ गाउँपालिकाका सात, म्याग्दे गाउँपालिकाका ११ र शुक्लागण्डकी नगरपालिकाका २३ जनामा क्षयरोग पुष्टि भएको छ । त्यसमध्ये छ जना बालबालिका छन् भने तीन जना एचआइभी सङ्क्रमित रहेको श्रेष्ठले जानकारी दिए ।

    यस्तै जिल्लामा क्षयरोगबाट १५ जनाको मृत्यु भएको छ । साउन महिनादेखि फागुन मसान्तसम्ममा जिल्लामा क्षयरोगबाट १५ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

    त्यस्तै अघिल्लो आर्थिक वर्षमा क्षयरोगबाट जिल्लामा १४ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा दुई सय ८६ क्षयरोगका बिरामी थिए । जिल्लास्थित एक सय ११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हो स्वास्थ्यकर्मी बताउँछन् ।