तीनकुने घटनाको निष्पक्ष छानविन गराउन राप्रपाको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीनकुने घटनाको निष्पक्ष छानविन गराउन राप्रपाको माग

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८१, शनिबार

    काठमाडाै, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार राजावादीहरूले गरेको आन्दोलनमा भएका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ । घटना छानबिनका लागि स्वतन्त्र न्यायीक आयोग बन्नुपर्ने राप्रपाको माग छ ।

    पार्टी कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा भड्किनुको कारण खोजी हुनुपर्ने बताएका छन् । ‘कसका कारणले हिंसा भड्किएको हो ? त्यो स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नागरिक र मानवअधिकारवादीको निष्पक्ष आयोग पनि बन्नुपर्छ । सरकारले पनि न्यायीक आयोग गठन गरोस् ।’

    राप्रपाले पार्टीका नेता रवीन्द्र मिश्र, धवलशमेशर राणाको रिहाईको मागसमेत गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरूको बिनासर्त २४ घण्टाभित्र रिहाईको माग लिङ्देनले गरे । उनले नेताहरूको रिहाई नगरिए राप्रपा देशभर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

    राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएको आन्दोलनलाई सरकारले बिथोल्न खोज्दा हिंसा भड्किएको निष्कर्ष पार्टीको रहेको समेत लिङ्देनले सुनाएका छन् । ‘सरकार आफै हिंसा भड्काउन र दमन गर्ने योजनाका साथ अगाडि आएको थियो,’ उनले भने, ‘सम्पूर्ण घटनाको जिम्मेवार सरकारको हो भन्ने हाम्रो निष्कर्ष छ ।’

    आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाडीले पेल्दै गएको हो नि ? भन्ने पत्रकारको प्रश्नमा उनले आफूले पनि त्यो दृश्य देखेको बताए । त्यतिबेला पक्राउ गर्ने स्थितिलाई नियन्त्रणमा लिने, सुरक्षा व्यवस्था गर्ने जिम्मेवारी सरकारको रहेको जवाफ उनले दिए । ‘त्यस विषयमा पनि छानबिन गर्नुस्, दोषी देखिएकालाई कारबाही गर्नुस्,’ उनले भने ‘रवीन्द्र मिश्र वा धवलशमेशर पनि आगजनी वा तोडफोडमा छन् भने कारबाही गर्नुस् । तर, शान्तिपूर्ण प्रदर्शनमा रहेकालाई पक्राउ गर्नु त निन्दनीय नै हो ।’