काठमाडौ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार (आज) भैरहवा ल्याइँदै छ । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि शुक्रबार राति घरबाटै पक्राउ परेका उनलाई थुनामा पठाउन आज भैरहवा ल्याउन लागिएको हो ।
तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्धक निर्देशकसमेत रहेका सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो ।
आज बिहान विमानमार्फत् लामिछानेलाई काठमाडौंबाट भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनलाई पुर्पक्षका लागि आज कारागारमा चलान गरिने छ ।लामिछानेलाई शुक्रबार राति नै प्रहरीले निवासबाट पक्राउ गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो ।