गोरखा–जितगढी एकीकरण पदयात्रालाई सफल बनाउने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोरखा–जितगढी एकीकरण पदयात्रालाई सफल बनाउने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०८१, आईतवार

    दमाैली, २४ चैत । नेपाली सेनाले सञ्चालन गर्न लागेको गोरखा–जितगढी एकीकरण पदयात्रालाई सफल बनाउने तनहुँका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नेपाली सेनाको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले यहाँ आयोजना गरेको बैठकमा उक्त पदयात्रालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

    पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तमा हस्तान्तरण गर्ने उद्धेश्यले चैत २८ गतेदेखि वैशाख ७ गते सम्म पदयात्रा आयोजना हुँदैछ ।

    व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले पदयात्रा ऐतिहासिक भएकाले स्थानीयको पनि साथ, सहयोग र सहकार्य हुन जरुरी रहेको भन्दै नेपालको ऐतिहासिक विषयवस्तु नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए ।

    गोरखाबाट चैत २८ गते देखि सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोरखाबाट सुरु भएको पदयात्रा साँझ तनहुँको ऐतिहासिकस्थल सतिघाट हुँदै भानु नगरपालिका–१ भन्सार ग्रीनपार्क आइपुग्ने र त्यहाँ स्थानीयवासीको सहभागितामा स्वागतको कार्यक्रम गरिने भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक पदयात्रामा स्वागत र साथ दिन जिल्लावासीलाई अनुरोध गरे । पदयात्राले नेपालको इतिहास बोकेको हुँदा सबै नेपालीले गौरव गर्नुपर्ने उनले बताए ।

    गोरखा दरबारबाट चैत २८ गते सुरु हुने पदयात्रा सोही दिन ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भन्सार सम्म आइपुग्नेछ । गोरखाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।

    भन्सारबाट २९ गते प्रस्थान गर्ने टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।

    तनहुँसुर आएर उक्त पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ ।

    धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

    पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३ सय ५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।