काठमाडौ, २८ चैत । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मोरङमा दुई सय मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
यस्तै हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहितका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच काठमाण्डौ उपत्यकाको प्रदूषण केही घटे पनि अझै अस्वस्थकर अवस्थामै रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ ।
अहिलेको वर्षाले प्रदूषण केही घट्न सक्ने मौसमविदले बताएका छन् । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछि पर्याप्त वर्षा हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताइन् ।
त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्याउन भूमिका खेलेको उनले बताइन् ।