पोखरा, ५ वैशाख । महानिरीक्षक दिपक थापाले व्यावसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सभाहलमा प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै समयको परिवर्तनसँगै आम नागरिकको प्रहरी प्रतिको आस्था, विश्वास एवं अपेक्षा बढ्दै गईरहेको तथा जनता र प्रहरी सहयात्री भएकोले नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन गरे ।
संगठनको सुदृढीकरण र शुद्धिकरणमा आफूले जोड दिईरहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग भएकाले कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने र निती विपरित जाने छुट नभएको स्पष्ट पारेका छन् ।