गोरखा-जितगढी पदयात्रा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोरखा-जितगढी पदयात्रा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८२, आईतवार

    बुटवल, ७ वैशाख। गोरखा दरबारबाट मिति २०८१ चैत्र २८ गते सुरु भएको गोरखा-जितगढी पदयात्रा ११औँ दिनमा मिति २०८२ वैशाख ०७ गते रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बीच समापन भएको छ। जितगढीमा पदयात्रा टोलीलाई भव्य स्वागत गरिएको थियो।

    करिब २०७ किलोमिटरको यो पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बुटवलको जितगढीमा सम्पन्न भएको हो। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका प्रारम्भिक पाँच कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखास्थित श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक र परम्परागत बाजागाजासहितको टोली सहभागी थियो।

    जितगढीमा आयोजित समापन समारोहमा स्थानीय झाँकी र सांस्कृतिक कार्यक्रमसहित जितगढी विजय उत्सव भव्यताका साथ मनाइयो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास जगेर्ना गर्न नेपाली सेनासँगको सहकार्यमा सञ्चालित यो पदयात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    जितगढी नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वीरतापूर्वक विजय हासिल गरेको ऐतिहासिक स्थल हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुन, श्री नं.२२ वाहिनी अड्डाका बाहिनीपति, जनप्रतिनिधि, बुद्धिजीवी, सरकारी निकायका प्रमुख, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

    यो पदयात्रा र विजय उत्सवले नेपालको ऐतिहासिक गौरव र नेपाली सेनाको वीरताको स्मरण गराउँदै राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको छ।