एक्लेडाँडास्थित बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरेर बुद्धजयन्ती मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक्लेडाँडास्थित बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरेर बुद्धजयन्ती मनाइँदै

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमाैली, १९ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडास्थित बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरेर बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । शुक्लागण्डकीका मगर र गुरुङ समुदायले श्रमदान गरेर दुई हजार पाँच् सय ६९ औं बुद्ध जयन्ती मनाउन लागेका हुन् ।

    गुरुङ मगर सांस्कृतिक एकता समाजले ‘शान्तिका लागि श्रम’ नाराका साथ बुद्ध जयन्तीको अवसरमा श्रमदान गर्न लागेका समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

    आगामी वैशाख २९ गते बुद्धजयन्तीको अवसरमा २५, २६ र २७ गते श्रमदान कार्यक्रमको आयोजना गरिएको छ । गुरुङका अनुसार एक्लेडाँडामा ३९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरिनेछ ।

    एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उद्धेश्यका साथ समाजले गौतम बुद्धको प्रतिमा निर्माणको योजना अगाडि सारेको छ । शुक्लागण्डकी नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा बसोबास गर्ने २४ वटा मगर समाज र १३ वटा गुरुङ समाजका सदस्यले श्रमदान गर्नेछन् ।

    वडा अनुसार पालो मिलाइएको छ । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म श्रमदान हुनेछ । कुटो, कोदालो, सावेल, लिएर आउन सबैलाई आग्रह गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

    उनले भने, “कम्तिमा त्यहाँको ढुङ्गा, माटोमा सबैको सहभागिता रह्यो भने अपनत्व महसुश हुन्छ । कम्तिमा हाम्रो हो भन्ने हुन्छ । प्रतिमा निर्माणको अभियानमा श्रमदानले निकै ठूलो भूमिका खेल्नेछ । दुवै समुदायसँगै सुखदुःख साट्ने हिजोको प्रचलनलाई पनि निरन्तरता दिदैछौं ।”

    त्यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन रु ६० लाखको लागतमा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले रु दश लाख विनियोजन गरेको छ । गत वर्ष बुद्ध पूर्णिमाका दिन बुद्ध प्रतिमा निर्माणस्थलमा भूमिपुजन गरिएको थियो ।

    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । गत वर्षसम्म शुक्लागण्डकीमा शान्ति¥याली गरेर जयन्ती मनाउने प्रचलन रहेको गुरुङ मगर साँस्कृतिक एकता समाजका सल्लाहाकार सूर्यबहादुर थापाले जानकारी दिए ।

    शुक्लागण्डकी–४ पुल्चोकमा गुरुङ र मगर समुदायको छुट्टाछुट्टै गुम्बा रहेको छ । दुवै समुदायले आफ्नो गुम्बामा समान्य पुजापाठ गरेपनि प्रवचन भने एकैठाउँमा हुने दुलेगौंडा गणपते तमु समाजका अध्यक्ष जितबहादुर गुरुङले बताए ।