व्यासका नगरप्रमुख न्यौपाने उरुग्वेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका नगरप्रमुख न्यौपाने उरुग्वेमा

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमौली, १९ वैशाख । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने मोन्टेभिडियो शान्ति फोरममा प्यानलिस्टको रूपमा उरुग्वे पुगेका छन् ।

    २०२५ मे २–३ मा उरुग्वेको राजधानी मोन्टेभिडियोमा ५औं विश्व शान्ति नगर तथा भू–क्षेत्र फोरममा प्यानलिस्टको रूपमा सहभागिता जनाउन न्यौपाने उरुग्वे पुगेका हुन् ।

    मन्टेभिडियोका नगरप्रमुख एकोनोमिस्ट माउरिसियोको निमन्त्रणामा नगरप्रमुख न्यौपाने व्यास नगरपालिका र युसिएलजी एसप्याक (युनाइटेड सिटीज एण्ड लोकल गभर्मेन्ट्स-एसिया प्यासिफिक) को कार्यकारी बोर्ड सदस्यको रुपमा त्यहॉ पुगेको सचिवालयले जनाएको छ ।

    नगरप्रमुख न्यौपानेको यात्रा, आवास, दर्ता शुल्क तथा भिसा प्रक्रिया लगायत सम्पूर्ण लागत मोन्टेभिडियो नगरपालिकाद्वारा व्यवस्थापन गरिएको जनाइएको छ ।

    उक्त फोरमको आयोजना मोन्टेभिडियो नगरपालिकाद्वारा गरिएको हो, जसमा विश्वभरका स्थानीय सरकार प्रमुखहरू, नीति निर्माता, र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको छ ।

    शुक्रबार नगरप्रमुख न्यौपानेले समुदायहरूसँगको सहकार्य अन्तर्गतको प्यानल सत्रमा सहभागिता जनाएर धारणा राखेका छन् । त्यसक्रममा उनले स्थानीय सरकार र समुदायबीचको संवाद, सामाजिक विश्वास निर्माण, सहिष्णुता प्रवर्द्धन, भेदभावविरुद्धको पहल र ती पहलहरूमा समुदायको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारेमा आफ्ना अनुभवहरू सुनाएका थिए ।

    यो सहभागिताले व्यास नगरपालिकाको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपालको स्थानीय तहको दृष्टिकोणलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको न्यौपानेको भनाइ छ ।