नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान तनहुँमा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान तनहुँमा सुरु

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८३, आईतवार

    तनहुँ, १५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान तनहुँमा पनि सुरु भएको छ। पार्टी जिल्ला कार्यालय तनहुँले आइतबार पत्रकार सम्मेलनमार्फत अभियानबारे जानकारी गराएको हो।

    पार्टीका अनुसार अभियानको मुख्य उद्देश्य राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितको संरक्षणका लागि जनजागरण तथा जनसहभागिता अभिवृद्धि गर्नु रहेको छ।

    अभियानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनअधिकारको रक्षा गर्दै सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवालमा जनमत निर्माण गरिने पार्टीले जनाएको छ। त्यस्तै महँगी, बेरोजगारी, कालोबजारी, असुरक्षा र जनविरोधी गतिविधिविरुद्ध आवाज संगठित गर्ने तथा प्राकृतिक विपद्मा परेकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यसमेत राखिएको छ।

    पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टीका विभिन्न समिति र जनवर्गीय संगठनको समायोजन, वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको तयारी पनि अभियानका प्राथमिकतामा छन्। राष्ट्रिय महाधिवेशनका लागि सुझाव संकलन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको राजनीतिक कार्ययोजना तथा कार्यक्रमबारे जनतालाई स्पष्ट पार्ने कामसमेत अभियानअन्तर्गत गरिने जनाइएको छ।

    अभियान सञ्चालनका लागि तनहुँका १० वटै स्थानीय तहमा जिम्मेवारी बाँडफाँट गरिएको छ। देवघाटमा हरिबहादुर चुमान, आँबुखैरेनीमा सूर्यबहादुर गौली र शुक्र चुमान, बन्दीपुरमा गीता शाही, हेमराज लामिछाने, जुमबहादुर गुरुङ र मीना गौतमलाई जिम्मेवारी दिइएको छ।

    त्यसैगरी भानुमा विद्या ढकाल र ओमकुमारी पौडेल, व्यासमा कलिला खान, शिवशंकर पौडेल र मंगलप्रसाद श्रेष्ठ, म्याग्देमा सोमबहादुर थापा तथा शुक्लागण्डकीमा आशा कोइरालालाई जिम्मेवारी तोकिएको छ।

    भिमादमा काजीमान श्रेष्ठ र रमेश सिग्देल, घिरिङमा शंकर पोखरेल र दुर्गा नेपाली तथा ऋषिङमा ओमराज आलेलाई अभियानको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। जिल्ला कार्यालयको जिम्मेवारी भने अतीन्द्र केशरी न्यौपानेलाई दिइएको छ।

    अभियानका लागि स्थानीय तहस्तरीय टोली निर्माण गरिएको र ती टोलीको प्रत्यक्ष नेतृत्व केन्द्रीय सदस्यहरूले गर्ने जनाइएको छ। सम्बन्धित पालिकामा मतदाता भएका सबै तहका पार्टी सदस्यलाई अभियानमा परिचालन गरिने पार्टी जिल्ला कार्यालय तनहुँले जनाएको छ।

    पार्टीकी इन्चार्ज आशा कोइरालाले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरिने जानकारी दिएकी छन्।