दमाैली, १२ जेठ । तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दीखोलालाई स्वच्छ र सफा बनाउने उद्धेश्यसहित बुल्दीखोलामा सरसफाइ अभियान सञ्चालन हुने भएको छ । व्यास नगरपालिका–२ स्थित बुल्दीखोलालाई स्वच्छ बनाउन र सर्वसाधारणलाई सचेतना प्रदान गर्ने उद्धेश्यसहित यहाँ सरसफाइ अभियान सञ्चालन गर्न लागिएको हो ।
सरसफाइ अभियान अन्तर्गत बुल्दीखोलामा धेरै फोहर सङ्कलन गर्नेलाई पुरस्कार प्रदान गरिने साेमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक अभियान्ता सुदीप गफ्फारले जानकारी दिए । आगामी शनिबार हुने सरसफाइ अभियानका क्रममा धेरै फोहर सङ्कलन गर्नेमध्ये प्रथम हुनेलाई रु दश हजार नगद र दोस्रो हुनेलाई रु पाँच हजार नगद प्रदान गरिने उनले बताए ।
उनले भने, “यो केबल फोहर सङ्कलन गर्ने र मनोरञ्जनमात्रै होइन । हाम्रो मुख्य उद्धेश्य भनेको जनचेतना जगाउनु हो ।” विगतको वर्षमा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउँदै उहाँले अहिले त्यसैको निरन्तरता भएको उल्लेख गरे । उनले भने, “वर्षमा एकदिन प्रतियोगिता जस्तो गरी आयोजना भएपनि हामी नियमित मासिक रुपमा बुल्दीखोलामा सरसफाइ गरिरहेका छौ ।”
बुल्दी खोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्धेश्यसहित वृहत सरसफाई अभियान सञ्चालन भइरहेको गफ्फारले बताए । उनले भने, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोला प्रदूष्ति भएको अवस्था देखेपछि हामी निरन्तर सरसफाइ अभियानमा जोडिएका छौ ।”
अभियानका लागि हरेक टोल र क्लवसँग समन्वय गरिएको बताउँदै उहाँले एउटा टोलीमा १५ जना सहभागी हुन सक्ने जानकारी दिए । उनले भने, “सरसफाई अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लवसँग सहकार्य गर्नेछु । सरसफाई अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।”
यस्तै सरसफाइ अभियानका दिनको भिडिओहरु खिचेर पठाउनेहरुमध्ये धेरै पटक हेरिने भिडिओमध्ये प्रथमलाई रु पाँच हजार र द्वितीय हुनेलाई रु दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । गत वर्ष आयोजित कार्यक्रममा सात हजार दुई सय सात किलो फोहर सङ्कलन भएको थियो ।