छाडा गाई संरक्षणका लागि केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाडा गाई संरक्षणका लागि केन्द्र

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८२, मंगलवार

    दमौली, १३ जेठ । व्यास नगरपालिका–१० दुम्सीमा स्थापना गरिएको गौ संरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्र बेबारिसे अवस्थामा छाडिएका र पाल्न छाडिएका गाई संरक्षणका लागि प्रभावकारी बनेको छ। छाडा तथा वृद्ध गाईहरू जथाभावी छाडिदिँदा दुर्घटना हुनुका साथै फोहर बढ्न थालेपछि विसं २०७६ मा नगरले केन्द्र स्थापना गरी गौ संरक्षण गर्न थालेको हो।

    नगरले तत्कालीन समयमा तुल्सीराम सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापना गरेको थियो। मादीनदी किनारमा रहेको सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको जनाउँदै उनले अहिले गाई संरक्षणका लागि केन्द्र प्रभावकारी बन्दै गएको बताए।

    केन्द्रका अध्यक्ष सापकोटाका अनुसार विभिन्न चरणमा गरी हाल तीन सय रोपनी क्षेत्रफलमा केन्द्र सञ्चालित छ। उनले भने, ‘तत्कालीन समयमा तीन सय रोपनीमा तारबार गर्न आर्थिक अभाव थियो। प्रत्येक वर्षको बजेटबाट विभिन्न चरणमा गरी अहिले सबै क्षेत्रमा तारबार गरिएको छ।’ केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याउने गरिएको उनको भनाइ छ।

    गाईले दूध दिन छाडेपछि कहाँ लैजाने भनेर किसान समस्यामा परिरहेको अवस्थामा केन्द्र सहयोगी बनेको सापकोटाले उल्लेख गरे। ‘यहाँ रहेका गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धले खाने गरेका छन्’, उनले भने, ‘गाई मरेपछि छाला काडेर राखिदिन्छौँ। गिद्ध आएर खान्छन्, हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ।’

    आगामी दिनमा हड्डीबाट पनि आम्दानी लिने योजनासहित अघि बढेको बताउँदै अध्यक्ष सापकोटाले त्यसका लागि उपकरण खरिद गर्ने तयारी गरिएको जानकारी दिए। ‘गिद्ध संरक्षणका लागि पनि गौ संरक्षण केन्द्र सहयोगी बनेको छ। गौ संरक्षण केन्द्रमा तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा गिद्धका लागि पाँच वटा आरामस्थल बनाइएको छ। यहाँ आएर गिद्धहरू बस्ने गरेका छन्’, उनले भने।

    दमौली बजारमा उत्पादित कुहिने फोहरबाट बायो ग्यास उत्पादन गरिएको सापकोटाले बताए। उनले भने, ‘यहाँ हामीले गाईको मात्रै संरक्षण गरेका छैनौँ, फोहरको व्यवस्थापन पनि गरेका छौँ। कुहिने फोहरबाट ग्यास उत्पादन गरिरहेका छौँ।’

    उनका अनुसार दमौली बजारबाट संकलन हुने दिसापिसाबको प्रयोग गरी घाँस उत्पादन गरिएको छ। उनले भने, ‘स्थानीयवासीलाई सामूहिक खेतीतर्फ पनि प्रोत्साहन गरेका छौँ। केन्द्रको सहयोगमा स्थानीयले सामूहिक घाँसखेती र मकैखेती गरिरहनुभएको छ।’

    बजेट अभावमा केन्द्र सञ्चालनका लागि समस्या रहेपनि विभिन्न दाता, संघसंस्थाले गर्ने सहयोगले गाईलाई आहारा खुवाउन मद्दत मिलेको छ। सापकोटाले भने, ‘विभिन्न सहयोगी दाताहरूले जन्मदिनमा, वैवाहिक वर्षगाँठ, आमा बुबाको मुख हेर्ने दिनमा आएर चोकर, दाना सहयोग गर्नुपर्छ। ती सहयोगले यहाँ रहेका गाईको हेरचाह गर्न सहयोग पुगेको छ।’

    व्यास नगरको सहयोगमा यहाँ तीन र केन्द्रबाट एक जना कर्मचारी नियुक्त गरिएको सापकोटाले जानकारी दिए। नगरपालिकाले मासिक रु पाँच लाख परालका लागि विनियोजन गरेपनि उक्त रकम पर्याप्त नभएको उनको भनाइ छ। हाल यहाँ एक सय २० गाई छन्।

    ‘यस ठाउँलाई पञ्चकव्य बनाउने योजना छ। केन्द्रमा दूध दिने २० वटा गाई छन्। पञ्चकव्य स्थापनापछि ती गाईलाई छुट्टै राखेर पाल्ने योजना बनाइएको छ। गाईको पिसाब र गोबरबाट विभिन्न मल तथा अन्य वस्तु बनाएर बिक्री गर्ने योजना बनाइएको छ’, सापकोटाले भने।