दमौली, २८ जेठ । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३२ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
त्यसैले त देशका विभिन्न ठाउँलगायत काठमाडौवासीहरु बढ्दो गर्मी छल्न र्याफ्टिङमा रमाउन थालेका छन् । काठमाडौँबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको छ । रियाफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् ।
त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त सिजन पनि हो । लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कंडेल यतिबेला र्याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् ।
“र्याफ्टिङका लागि यो अनुकुल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले पनि र्याफ्टिङ गर्नेहरु बढेका छन् ।” बिदाका दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरु बढेको उनको भनाइ छ ।
त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्याफ्टिङ गरेर जानेहरु पनि हुनुहुन्छ, त्यसबाहेक काठमाडौँबाट प्याकेजमा पनि र्याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरु हुनुहुन्छ,” उनले भने । यहाँ आउनेहरु गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उहाँको बुझाइ छ ।
त्रिशूली नदीमा र्याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्याफ्टिङ गर्न सक्छन् । “र्याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कंडेल भन्छन्, “मुख्य सहर काठमाडौँ, चितवन र पोखराको नजिक भएकाले त्रिशूलीमा र्याफ्टिङका लागि आउनेहरुको सङ्ख्या बढ्दो छ ।”
र्याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैमा र्याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्याफ्टिङ गर्दा र्यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले पनि त्रिशूली र्याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।