काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले देशका लागि काम गरिरहेको बताएका छन् । विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले सुशासन र विकासका लागि काम गर्दा गाली आइरहेको सुनाए ।
उनले आफूलाई गाली गर्न मिसन चलाउनेहरू देख्दा माया लाग्ने बताए ।
उनको भनाइ जस्ताको तस्तै
म आफ्नो अनुभव भन्छु । म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु । मौका पाएका बेला सुशासन, विकास र देशका लागि काम गर्छु । नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यसकारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ । सधैँ प्रशन्न चित्त हुन्छु ।
मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति, तर म प्रशन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यतिमात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैलाई बुझाउन सक्दिनँ ।
यदि योगको संगतमा आए भने, तपाईंहरूको संगतमा आए भने ती मान्छेहरू पनि मान्छे हुन्छन् । तपाईंहरू कसैलाई मुख छाड्दै हिँड्नुभएको छ, गाली गर्दै हिँड्नुभएको छ ? हिँड्नुहुन्न । किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, प्राणायाम गर्नुहुन्छ । योग भनेको के हो चित्तानुशासनम् । चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्तस्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो ।
पतञ्जलि भन्छन्, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन् । स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन, तर राम्रा कुराहरूमा गएर स्थिर हुन्छ । हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौँ । डाक्टरहरू ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरू विभिन्न चिज पठाउनुहुन्छ । ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनुहुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ । त्यो हो स्थिर । यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईँको निष्कर्ष पुग्यो ।
हो, त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ । किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो । त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ । हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ, तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो ।
बिमारी भएपछि म आफैँ पनि ध्यान गर्छु, तर जेलमा हुँदा मलाई के के यातना, कस्तो थियो, त्यो त्यतापट्टि जान चाहन्नँ । जेलमा हुँदा मलाई उपचार उपलब्ध थिएन । पेनकिलर जम्माजम्मी दिइन्थ्यो । लगातार मलाई पेट्टिक अल्सर भएको थियो । डिउडेनिम अल्सर भएको थियो । त्यो अल्सरले घाउ भएको थियो पेटमा र त्यसमा भतभत पोल्थ्यो र सहन नसक्ने अवस्था बन्थ्यो । कहिले कहिले धेरै ब्लड जान्थ्यो मुखबाट । अनि ट्युबरक्लुसिस (टीबी) त्यसमाथि थपियो । म एकदम सिठ्ठा थिएँ, एकपल्ट अलिक ठीक भएपछि नापिहेरेको तौल ३७ केजी रहेछु । त्यस अवस्थामा पेनकिलरमात्र दिइन्थ्यो ।
पेन किलर औषधि होइन । सोझै प्रत्यक्ष पेनकिलर हो, त्यसपछि किड्नी किलर हो, अरुथोक किलर हो, स्वास्थ्य किलर हो, अनेक चिज किलर हो । औषधि होइन पेन किलर । अब त्यहीमात्र मलाई दिन्थ्यो । त्यतिबेलै मरिहालियो भने त के गर्ने पछि उपचार पनि गर्न पाइँदैन । अहिले बाँचियो भने जे जे फेल भए पनि पछि ठीकठाक गरौँला भन्ने हुन्थ्यो । नभन्दै किड्नी फेल भयो । बाहिर आएपछि किड्नी फेल भयो । बाहिर आएर जाँच्नेबित्तिकै मेरो किड्नी फेल हुनेतिर बाटो लाग्न थालिसकेको थियो ।
मैले रोक्न खोजेँ र जोगाउन खोजेँ, तर त्यो जबरजस्त आक्रमणमा परिसकेको थियो पेनकिलर । त्यसको आक्रमणमा परिसकेको थियो । त्यसकारण त्यो फर्किन सक्ने अवस्थामा थिएन । त्यसले विनम्र अनुरोधका साथ भन्यो किड्नीले प्लिज म अब रहन टिक्न सक्दिनँ, मेरो समय गयो, मलाई जान दिनुस् । अरू केही उपाय छ, गर्नुस् । होइन भने मसँगै तपाईं पनि हिँड्नुस् । अनि मैले अरू उपायहरू खोजेँ, अप्रेसन गरेँ । अप्रेसन त्यस अवस्थामा गर्नैपर्यो । त्यहाँनिर ध्यानले हुँदैन ।