सेवाग्राही नआएपछि तनहुँमा प्रशासनमा बिहानीको सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेवाग्राही नआएपछि तनहुँमा प्रशासनमा बिहानीको सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    दमाैली, १२ असार । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राही न्यून सङ्ख्यामा आएपछि कार्यालयले बिहानीको सेवा बन्द गर्ने भएको छ । प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह हुँदै आएकामा सेवाग्राही न्यून भएपछि कार्यालयले असार १५ गतेदेखि उक्त समयमा सेवा बन्द गर्ने भएको हो ।

    सेवाग्राहीको चापलाई मध्यनजर गरी ७ बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुँदै आएकामा बिहानको अवधिमा सेवा लिनका लागि आउने सेवाग्राहीलाई नियमित कार्यालय समयमा नै सेवा प्रवाह गर्दा समेत सहज हुने अवस्था रहेकाले बिहानको समयमा कार्यालय खुल्ला गर्न सान्दर्भिक नदेखिएकाले १५ गतेदेखि बिहान १० बजेदेखि कार्यालय खुल्ला रहने प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

    विगत केही दिनदेखि दैनिक औसतमा ४२ नयाँ नागरिकता र एक सय १७ राष्ट्रिय परिचयपत्रका सेवाग्राहीहरु आउने गरेका छन् ।

    कार्यालयमा दैनिक एक सय भन्दा बढी नागरिकता र दुई सय भन्दा बढी राष्ट्रिय परिचयपत्रका सेवाग्राहीहरु आउने तथा कतिपय सेवाग्राहीहरु बिहानदेखि नै कार्यालयको मूलढाकोमा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहान ७ बजेदेखि सेवा प्रवाह सुरु गरिएको थियो ।