


काठमाडाै, २४ असार । मित्रराष्ट्र चीन र नेपाल जोडिने रसुवागढी नाकामा मंगलबार बिहानै बाढीले तहसनहस बनायो । नेपाल र चीन जोड्ने मितेरी पुलमा क्षति हुँदा दुईतर्फी आवागमन बन्द भएको छ भने १८ जना बेपत्ता भएका छन् ।
बिहान एक्कासी नेपाल–चीन सीमामा रहेको लेन्दे (भोटेकोशी) खोलाबाट आएको बाढीले नेपालतर्फ ठूलो क्षति भएको छ । रसुवागढी नाकाको सुक्खा बन्दरगाहमा राखिएका केही विद्युतीय गाडी (ईभी) र कन्टेनरसहित करिब १०० वटा गाडी बगाएको अनुमान गरिएको छ । यद्यपि, यकिन तथ्यांक अझै आइसकेको छैन ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका हालसम्म १८ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा तीन जना प्रहरी, ९ जना सर्वसाधरण र ६ जना चिनियाँ नागरिक छन् ।
सेना, प्रहरी, सशस्त्र प्रहरीले हालसम्म बाढीमा फसेका ५७ जनाको उद्धार गरिसकेको छ । दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदुर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका थिए । सेनाको हेलिकप्टरमार्फत् उनीहरूको उद्धार भयो ।