साउनको पहिलो सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउनको पहिलो सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८२, मंगलवार

    दमौली, ६ साउन । साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । ।

    अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएकामा यस वर्ष ३५ हजार भक्तजन बोलबम मेला भर्न आएका समितिका कार्यकारी निर्देशक सदन बरालले राससलाई जानकारी दिए । उनका अनुसार देवघाटमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

    साउनमा त्रिशूली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको बरालले बताए । नदी किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरीसहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

    त्यसैगरी, मेलाअघि प्रत्येक आइतबार र मेला पछि प्रत्येक मङ्गलबार वेणी सङ्गममा सरसफाइ गर्ने पनि बरालले बताए । मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गरिएको छ ।

    चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा मनाइने बोलबम मेलामा देशविदेशबाट हजारौँ भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए ।