काठमाडाै, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ‘भ्वाइस टेस्ट’ लिएको छ । घुस लेनदेन गरेको अडियोसहित उजुरी परेपछि आयोगले मंगलबार निवर्तमान मन्त्री गुप्ता र विचौलिया भनिएका सुजन लामाको ‘भ्वाइस टेस्ट’ लिएको हो ।
अख्तियार उच्च स्रोतका अनुसार अडियोमा भएको भ्वाइस र गुप्ता तथा लामासँग गरिएको भ्वाइस टेस्ट परीक्षण गरिनेछ ।
पोखराको जग्गा विवाद तथा भूमि आयोगको कास्की अध्यक्ष नियुक्तिका लागि तत्कालीन संघीय मामला मन्त्री गुप्ता र लामाबीच घुस लेनदेन भएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सक्कली रहेको पुष्टि भइसकेको छ ।
आयोगले अडियो सक्कली हो कि होइन भनेर जाँचका लागि फरेन्सिक ल्याब पठाएको उक्त अडियो सक्कली रहेको पुष्टि भएको हो ।
अब त्यो अडियोमा भए बमोजिम गुप्ता र लामाको स्वर भन्ने पुष्टि भएपछि अनुसन्धानको प्रक्रिया अघि बढ्ने अख्तियार उच्च स्रोतले बतायो ।
उक्त प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठसहित मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखहरू, भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल आदि मुछिएका छन् ।
आयोगमा परेको उजुरीमा विस्तृत छानबिन अघि बढेको छ । उजुरीमा गुप्ता र अधिकारीलाई कारबाहीको माग गरिएको छ ।
प्रमाणको रूपमा घुस लेनदेन भएको अडियो, घुसस्वरूप दिएको रकमको नोटको सिरियल नम्बर, तस्वीर आदि बुझाइएको छ । अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
गुप्ताले आफूले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन् । अडियो पनि आफ्नो नभएको उनको जिकिर छ । तर, प्रधानमन्त्री ओलीसँगको भेटमा भने उनले बिचौलियाले पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको भनेर स्वीकारेको सार्वजनिक भइसकेको छ । (लाेकान्तर डटकमबाट)