कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    पोखरा, ७ साउन । कास्की कारागारमा कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गर्नुको पछाडि गत आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गर्नु र त्यसपछि उत्पन्न उपक्रमले काम गरेको छ ।

    कैदीबन्दीले चाहेका प्रकाश र विभागले नियुक्त गरेका अजय दुवै ज्यान मुद्दामा सजाय काटिरहेका बन्दी हुन् ।तर, कारागारभित्र बन्दीहरुको गुटबन्दी चलाइरहेका अजय र प्रकाशमध्ये अजयले बाजी मारेपछि ‘क’ ब्लक अशान्त बन्न पुग्यो । कास्की कारागार विभागको निर्णय कार्यान्वयन गर्नेतर्फ लाग्दा बन्दीहरु भने आन्दोलनमा उत्रिए ।

    यहाँसम्म कि, आइतबार साँझ त झडपसमेत भयो । त्यसपछिको खतरा भाँपेर कारागारले अजय र प्रकाश दुवैलाई सोही राति कास्की प्रहरीको जिम्मा लगाएको थियो । मंगलबारसम्म आइपुग्दा अजय चौकीदारकै रुपमा कारागार फर्किएका छन् भने कैदीबन्दीले रुचाएका प्रकाशलाई चाहिँ तनहुँ कारागार स्थानान्तरण गरिएको छ ।

    योसँगै चौकीदार नियुक्तिको विषयले कास्की कारागारमा उत्पन्न तनाव मत्थर बनेको छ । आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गरेको थियो । कारागारको ‘क’ ब्लकका कैदीबन्दीले भने त्यसलाई स्वीकार्न तयार भएनन् ।कास्की कारागारले सिफारिस गरेकोमध्येका प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने माग गर्दै अजयको नेतृत्व स्विकार्न नसकिने कैदीबन्दीहरुले माग गरे ।

    माहोल यतिसम्म अशान्त बन्यो कि, कैदीबन्दीहरुले भित्रै टायर बाल्ने, नाराबाजी गर्ने गरेपछि ठूलो संख्यामा प्रहरी तैनाथ नै गर्नुप¥यो । त्यसको साँझ झडप नै भयो । झडप भएपछि अजय र प्रकाशलाई कारागारबाट कास्की प्रहरीको हिरासतमा लगिएको थियो ।सोमबार कैदीबन्दीहरु धर्नामा उत्रिए । ‘क’ ब्लकमा रहेका ३६६ कैदीमध्ये केही बाहेक सबैले प्रकाशलाई नै चौकीदार बनाउनुपर्ने भन्दै गृहमन्त्रीलाई पत्र नै लेखे ।

    उनीहरुले पत्रमार्फत् आफ्ना मागहरु शीघ्र सम्बोधन गर्न आग्रह गरे ।पत्रमा उल्लेख छ, ‘कारागारमा रहेका कैदीहरूबीच कुनै पनि प्रकारको विवाद नरहोस् भन्ने उद्देश्यले कारागार प्रशासनले सुरक्षाका उपायहरू कडाइका साथ लागू गरेको छ, तर कैदीबन्दीहरूलाई दैनिक जीवनयापनमा अत्यावश्यक आर्थिक स्रोत व्यवस्थापन गर्ने अवसर नै नदिइएकाले गम्भीर समस्या उत्पन्न भएको छ ।’

    प्रकाश गुरुङ पक्षधर कैदीहरुले नवनियुक्त चौकीदार अजयले कैदीबन्दीको हकहित तथा सुरक्षा गर्न नसक्ने, पक्षपात र निरंकुश कार्यशैली रहेको, कैदीबन्दीको आर्थिक शोषण हुने, सुशासन कायम नरहने दाबी गरेका छन् ।

    आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएकाले त्यसको पनि छानबिन गर्न उनीहरूले माग गरेका छन् । माग पूरा नभएसम्म नयाँ चौकीदारलाई बहिष्कार गर्ने, आमरण अनसन बस्ने कैदीबन्दीले पत्रमा उल्लेख गरेका छन् ।

    कैदीबन्दीले प्रकाशलाई नै चौकीदार बनाउने माग राखेतापनि कारागारले चाहिँ विभागले गरेको निर्णय परिवर्तन नहुने जनाएको छ । त्यसको विकल्पमा प्रकाशको स्थानान्तरणको विकल्पमा कारागार पुगेको छ । मंगलबार स्थिति शान्त बनेपछि चौकीदार अजय गुरुङलाई कारागारमा नै फर्काइएको छ भने हालसम्म हिरासतमा नै छन् । कास्की कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले अजयलाई फिर्ता ल्याइएको र प्रकाश चाहिँ प्रहरी हिरासतमा नै रहेको जानकारी दिए ।

    कुँवरका अनुसार प्रकाशलाई भने कास्की कारागारबाट अन्यत्रैको कारागारमा स्थानान्तरण गर्ने तयारी छ । उनले हालसम्म प्रकाश हिरासतमा नै रहेको बताए । तर, विशेष स्रोतका अनुसार प्रकाशलाई तनहुँ कारागार स्थानान्तरण गरिसकिएको छ ।३६६ कैदीबन्दीमध्ये ३६२ जनाले प्रकाश नै चाहिन्छ भनेर पत्र लेखेतापनि विभागको निर्णयलाई कार्यान्वयन गर्न कैदीबन्दीका नाइके प्रकाशलाई जिल्ला नै फेरेर कारागार स्थानान्तरण गरिएको हो । देशभरिका कारागार प्रशासन सञ्चालन गर्न कारागार व्यवस्थापन विभागले कैदीबन्दीबाटै प्रत्येक आर्थिक वर्षको सुरुआतमा नयाँ चौकीदार नियुक्त गरिन्छ । चौकीदार सरकारी सुविधा पाउने जिम्मेवारी हो । चौकीदार नियुक्त गर्न परीक्षाका जस्तै चरणहरु पार गर्नुपर्छ । त्यसअघि चौकीदार नियुक्त गर्न एउटा समिति बन्छ । त्यो समितिले अन्तर्वार्ता लगायत परीक्षाबाट उत्तीण गरेको व्यक्तिलाई नै कारागार व्यवस्थापन विभागले चौकीदार नियुक्त गर्छ । चौकीदारले तोकिएको तलबभत्ता नेपाल सरकारबाट पाउने कानूनी व्यवस्था छ । (ढोरपाटनन्युज डटकमबाट)