


दमाैली, १० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मन्त्रीको कार्यकाल पूरा गरेर फर्किदा बेदाग भएर निस्कने बताएकी छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले आफूलाई कुनै लोभलालचा नभएको बताउँदै देश र जनतालाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
तनहँुका जनताको शिर सधैं उच्च राख्ने गरी काम गर्ने बताउँदै मन्त्री न्यौपानेले भनिन्, “म सुखसयलका लागि राजनीतिमा आएको होइन, देश र जनताको हित गर्ने भनेर राजनीति गरेको हो । म कसम खाएर भन्छु मन्त्रीबाट निस्किदा आज जस्तो छु त्यस्तै बेदाग भएर निस्कनेछु ।”
उनले आफूले अनुचित काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “मैले कर्मचारीलाई भनेको छु, मन्त्री दुई पैसाको लोभ गर्नुहुन्छ भन्ने ठान्नुहुन्छ त्यो भ्रम हुनेछ । मैले सबैलाई भनेको छु भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्न दिन्न ।”
मन्त्री न्यौपानेले विशेष परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई यस मन्त्रालयको जिम्मेवारी दिएकाले यसलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्रालयमा भएका समस्या समाधान गर्दै कर्मचारीका हकहित पूरा गराउन आफू सधैं क्रियाशील रहने उनकाे भनाइ थियो ।
मन्त्री न्यौपानेले कर्मचारी सरुवामा मापदण्ड बनाउने बताउँदै कर्मचारीतन्त्रलाई सुधार गर्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेको उल्लेख गरिन् ।
तनहुँको विकासका लागि मन्त्री नहुँदा पनि निरन्तर लागिपरेको बताउँदै मन्त्री न्यौपानेले यहाँको विकास निर्माणका सवालमा आफू जानकार रहेको चर्चा गरिन् । समृद्ध तनहुँ निर्माण गर्ने अभियानमा अनवरत रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री न्यौपानेले तनहुँवासीको सुखदुखमा साथमा रहेको उल्लेख गरे।
नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमाले नेताहरु पिएल श्रेष्ठ, नरेन्द्रराज वाग्ले, मनुमाया श्रेष्ठ, प्रदीपराज अधिकारी लगायतले मन्त्री न्याैपानेलाई शुभकामना दिएका थिए ।