


दमाैली, १४ साउन । लायन्स क्लव अफ शुक्लागण्डकीले बुधबार दुलेगौंडामा आयोजना गरेको खुल्ला वृहत रक्तदान कार्यक्रममा ३ सय ७३ युनिट रगत संकलन भएको छ ।
गएको वर्ष क्लवले गरेको रक्तदानमा ३ सय १३ युनिट रगत संकलन भएको थियो । लायन्सले गर्ने रक्तदानमध्य सबैभन्दा बढि रगत एकै पटक संकलन गरि गत वर्ष लायन्स क्लव अफ शुक्लागण्डकी सम्मानित भएको थियो । प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराले पनि क्लवलाई सम्मान गरेका थियो । गत वर्षको रेकर्डलाई तोड्ने गरि यस पटक ३ सय ७३ युनिट रगत संकलन गर्न सफल भएको क्लवका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए ।
सो अवसरमा क्लव अध्यक्ष ओम कुमार श्रेष्ठले रक्तदाता र सहयोगी सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग रहने विश्वास व्यक्त गरे । यसअघि लायन्स क्लब अफ इन्टरनेसनल डिस्ष्ट्रीक ३२५ एम डिस्ष्ट्रीक गर्भनर लायन धनीराम बरालले पहिलो रक्तदाता अर्जुन लम्साललाई रक्तपोका हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।