नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८२, आईतवार

    दमाैली, १८ साउन । नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो ।

    समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको धिमे बाजा, परम्परागत सङ्गीत, नृत्य सिकाएको समितिका अध्यक्ष सन्देशनारायण श्रेष्ठले जानकारी दिए । नयाँ पुस्ताले नेवार संस्कृति बिर्सदै गएकाले यसको संरक्षणका लागि तीन महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको उनले बताए। ‘हाम्राे संस्कृति हाम्राे पहिचान : गराैं नयाँ पुस्तामा हस्तान्तरण’ भन्ने मूल नारा सहित प्रशिक्षण गरिएकाे उनले बताए ।

    उनले भने, “नेवार समुदायको संस्कृति संरक्षण गर्नुपर्छ भनेर लागिपरेका हौ । व्यास नगरपालिकाभित्रका ४५ जना युवायुवतीलाई तीन महिनासम्म विभिन्न सीप सिकाएका छौ ।” सहभागीलाई तजिलजी नाच, धिमे बाजा, लाखे नाच, टाकटुके नाच, कुमारी नृत्य सिकाइएको छ ।

    “पुरानो पुस्ताले अहिलेसम्म संस्कृति संरक्षण गर्दै आउनुभएको छ, अब हाम्रो जिम्मेवारी हो,” उनले भने, “भाषा, संस्कृति बिर्सन हुँदैन । पुरानो पुस्ताबाट अहिलेको पुस्तामा सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौ ।”

    श्रेष्ठले भविष्यमा नेपाल भाषा सिकाउने, लिपी, पहिरन, गरगहना, पूजाआजा लगायतमा अग्रसर हुने साेच राखेकाे जानकारी दिए ।

    सहभागीलाई धिमे बाजा सम्बन्धी कुशल श्रेष्ठ, कुमारी नाच कन्चन श्रेष्ठ र मन्जुश्री नाच साेना श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको अन्तिम दिन शनिबार सहभागीहरुले नेवार सांस्कृतिक सम्पदा प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको बताए । नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि व्यास नगरपालिका सधैं तयार रहेको उनको भनाइ थियो । उनले नेवा समुदायले हरेक सांस्कृतिक पक्षलाई निरन्तरता दिन आवश्यक रहेकाे बताए ।

    नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष शङ्करनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले अहिलेका पुस्तालाई संस्कृति हस्तान्तरण गरिनु सकारात्मक रहेको बताए । नेपालको चिनारी नै नेवारी भाषाबाट भएकाले सरकारले नेवार संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनकाे भनाइ थियो ।

    कार्यक्रममा व्यास नगरपालिका-२, ३ र ५ का वडाध्यक्ष, नेवा खल तनहुँ, नेवा देय दबु, नेवा देय दब (मिसा खल), नेवा गुठी समन्वय समिति, जनभावना मिसा खल, २८ गुठीका प्रतिनिधिकाे सहभागिता थियाे ।