


दमाैली, १८ साउन । आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित पृथ्वीराजमार्गमा विगत केही दिनदेखि खाल्डो भएको सडक जनप्रतिनिधि र प्रहरीको सहयोगमा पुरिएको छ । खाल्डोले सवारी दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो पश्चात् वडा सदस्य मनोजकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा उक्त खाल्डो पुर्ने काम गरिएको हो ।
सवारीको चापका कारण दुर्घटनाको जोखिम बढेकाले प्रहरीसँगको सहयोगमा खाल्डो पुर्ने काम गरिएको वडा सदस्य श्रेष्ठले बताए ।
इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदीले विकास निर्माण र सुरक्षा जोडिएको विषय भएकाले हरेक विकासका काममा प्रहरी जोडिएको बताए । पृथ्वीराजमार्गको सडकमा खाल्डो हुँदा दुर्घटना बढ्ने भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्नु प्रहरीको मुख्य काम भएकाले यस काममा जोडिएको उनले बताए ।