


दमौली, २७ साउन । तनहुँमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन घटनामा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ शेरामा घरको आँगनमा लडेर ६० वर्षीय गोविन्द पौडेलको मृत्यु भएको छ । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ चौतारामा माइक्रो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७२१९ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा माइक्रोमा सवार दश जनामध्ये एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोक बस्ने ३१ वर्षीय मोहन अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । माइक्रोमा दश जना सवार थिए । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।