


दमौली, २८ साउन । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकृया सुरु गर्ने भएको छ ।
भिमाद सहित देशैभरका आवश्यक भएका स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले एकसातादेखि गृहमन्त्री रमेश लेखकसँग निरन्तर सम्वाद, छलफल र ताकेता पश्चात् गृह मन्त्रालयले अर्थ मन्त्रालयमा सहमति पत्र पठाएको जनाइएको छ ।
अर्थमन्त्रालयले गृहको सहमतिको बारेमा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ । अर्थ मन्त्रालयको पत्र प्राप्ति पश्चात् सामान्य प्रशासन मन्त्री न्यौपानेको निर्देशनमा मन्त्रालयले हिजो (मंगलबार) इलाका प्रशासन कार्यालयको लागि आर्थिक सुनिश्चितताको पत्रको लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको छ ।
अब अर्थ मन्त्रालयले सबै अध्ययन गरेपछि आर्थिक सुनिश्चितताको पत्र सामान्य प्रशासन मन्त्रालयलाई पठाउन बॉकी नै रहेको छ । त्यसका लागि पनि मन्त्री न्यौपानेले हिजैबाट ताकेता सुरु गरेकी छन्।
अर्थ मन्त्रालयको पत्र प्राप्तिपछि सामान्य प्रशासन मन्त्रीको तर्फबाट मन्त्री परिषदमा एजेन्डाको रुपमा लगिने र मन्त्रीपरिषदको निर्णयपछि मात्रै इलाका प्रशासन कार्यलय स्थापना हुन्छ । यी सबै प्रक्रिया पूरा हुन कम्तीमा पनि दुई/तीन महिना लाग्न सक्ने जनाइएको छ ।