


दमौली, १३ भदौ । शनिबारदेखि दमौलीमा सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको पूर्व सन्ध्यामा व्यास नगरपालिका-३ विपी वनवाटिका आसपास सरसफाई गरिएको छ ।
जेसीआई व्यास नगरले शुक्रबार बिहान विपीवाटिका आसपास सरसफाई गरेको हो । सरसफाईमा जेसीआई व्यास नगरका पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरुको सहभागिता रहेको सम्मेलनका प्रवक्ता कृष्ण सुनारले जानकारी दिए ।

सम्मेलनको सबै तयारी सकिएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।


सम्मेलनमा नेपाल जेसीज क्षेत्र ख अन्तर्गतका ४२ शाखाका प्रतिनिधिहरु, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा मनोनित पदाधिकारीहरु, नेपाल जेसीजका क्षेत्र क, ग र घ का शाखाहरुका पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, जुनियर जेसीज अन्तर्गत देशभरका शाखाका पदाधिकारीको सहभागिता रहनेछ ।
सम्मेलनका क्रममा कला, संस्कृति विनियम कार्यक्रम, प्रकरण गोष्ठि, प्रशिक्षण कार्यक्रम, पर्यटकीय क्षेत्रको भ्रमण लगायतका कार्यक्रम हुनेछ ।