पूर्ण अशक्त अपाङ्गतालाई घरमै पुगेर नागरिकता प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्ण अशक्त अपाङ्गतालाई घरमै पुगेर नागरिकता प्रदान

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८२, सोमबार

    दमौली, १६ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले पूर्ण अशक्त अपाङ्गता भए जनालाई आइतबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । व्यास नगरपालिका–११ निवासी मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी छोरी २७ वर्षीया सविना पन्थलाई कार्यालयले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ती युवतीलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगरेकी उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “नागरिकहरुलाई छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौ ।” प्रजिअ अधिकारीले यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे ।

    यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी अपाङ्गता भएकी २० वर्षीया नविना खनाललाई पनि घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।