


काठमाडौ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदै जाने बताएका छन्। सरकारले सूचीकरण गर्न दिएको अल्टिमेट गएरातिबाट सकिएसँगै बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै रिमालले सर्वोच्च अदालतको आदेशका कारण सामाजिक सञ्जाल निष्क्रिय हुने बताएका हुन्।
उनले जनजीवनमा जोडिएका सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकृत होउन् भन्ने अपेक्षा गरे। ‘सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?’ एमाले उपमहासचिव समेत रहेका रिमालले भने, ‘सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचीकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ। सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्। लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।’