


काठमाडौं, २० भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको जिकिर गरे ।
‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’