एनआरएनए अष्ट्रेलियाद्वारा घाइतेलाई उपचार, मृतक परिवारलाई राहत र दोषीलाई कारबाहीको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एनआरएनए अष्ट्रेलियाद्वारा घाइतेलाई उपचार, मृतक परिवारलाई राहत र दोषीलाई कारबाहीको माग

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौं, २३ भदौ । एनआरएनए अष्ट्रेलियाले ‘जेन जी’ पुस्ताद्वारा नेतृत्व गरिएको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र ३४७ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

    विज्ञप्तिमा सरकारले ‘जेन जी’ पुस्ताले उठाएका जायज मागहरू समयमै सम्बोधन गर्न, घटनाको निस्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, यस्ता घटना दोहोरिन नदिन उच्चस्तरीय सुरक्षा पूर्वतयारी अपनाउन र शान्तिपूर्ण प्रदर्शनमाथि अत्यधिक बल प्रयोग नगर्नुपर्नेमा जोड दिइएको छ।

    एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशासन, भ्रष्टाचारविरुद्धको अभियान तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ताद्वारा सञ्चालन गरेको प्रदर्शनलाई सरकारले दमन गर्दै लोकतान्त्रिक मूल्यविपरीत व्यवहार गरेको आरोप लगाएका छन्।

    उनले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ र संविधानले प्रत्याभूत गरेका मौलिक हकहरू तथा अन्तर्राष्ट्रिय महासन्धिहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई स्मरण गराएका छन्।