


दमाैली, २४ भदाै । काठमाडौमा भएको जेनजेड आन्दोलनमा ज्यान गुमाएका युवाहरुको शोकमा तनहुँका दुई गाउँपालिकाले शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले युवा तथा विद्यार्थीहरुले अमूल्य ज्यान गुमाउनुपरेको दुःखद घटनामा दुई पालिकाले शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेका हुन् ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आज र भोलि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको बताए । दर्जनौ होनहार युवाहरुले ज्यान गुमाउनुपरेको मार्मिक तथा पीडादायी घडीमा सिर्जित गम्भीर परिस्थितिलाई मध्यनजर गरी उक्त निर्णय गरिएको चुमानले बताए ।
चुमानले भने, “यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा परेको छ । हामी दिवङ्गत आत्माहरुको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।”
देवघाट गाउँपालिकाले आज सम्पूर्ण शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । घटनामा ज्यान गुमाएका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरिएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले शान्तिपूर्ण प्रदर्शनमा अप्रत्यासित र अकल्पनीय रुपमा ठूलो सङ्ख्यामा युवा नागरिकहरुको निधन भएको घटनाले स्तब्ध बनाएको उल्लेख गरे ।