


दमौली, १ असोज । नेकपा माओवादी केन्द्र तनहुँले जेनजी आन्दोलनका क्रममा जिल्लास्थित सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै यथाशीघ्र पुननिर्माणमा जोड दिएको छ ।
पार्टीको बुधबार बसेको बैठकले सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनीप्रति दुख व्यक्त गर्दै पुननिर्माणका लागि जोड दिएको हो ।
जेन्जी आन्दोलनका सहिद तनहुँ भानुका इश्वत अधिकारी लगायत सम्पुर्ण सहिदहरु प्रति मौनधारण तथा श्रद्धाञ्जली अर्पण गर्दै सुरु बैठकले आन्दोलनले राखेका लक्ष्य भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माणमा आआफ्नो ठाउँबाट लागिपर्न सबैमा आग्रह गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।
आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त जिल्ला पार्टी कार्यालयको पुननिर्माण गर्न पार्टी सदस्य र शुभचिन्तकहरुसँग सहयोग आव्हान गर्ने निर्णय समेत बैठकले गरेको छ।
यस्तै असोज ३ गते संविधान दिवसमा पार्टी कार्यालयमा जेन्जी आन्दोलनले उठाएका मुद्धा र नेपालको संविधान विषयमा अन्तरक्रिया गरिने न्यौपानेले बताए ।