


दमौली, ५ असोज । व्यास नगरपालिका-१ गल्वुवेशी निवासी अनुशा क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर व्यास नगरपालिका वडा नम्बर ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेकी छन्।
पुर्ख्यौली थलो भानु ५ बारिफाँट घर भई हाल गल्वुवेशी बस्ने नरबहादुर क्षेत्री तथा निर्मला क्षेत्रीकी छोरी अनुसाले आइतबार आफ्नो जन्मदिन जेष्ठ नागरिक आश्रममा मनाएकी हुन् ।
जन्मदिनको अवसरमा उनले जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई खाद्यान्न दही दूध फलफुल सहयोग गरेकी छन्। काठमाडौँ स्थित गुरुकुल कलेजमा सीए अन्तिम वर्ष अध्ययनरत अनुशाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्न पाउँदा खुसी लाग्ने बताइन् ।
सो अवसरमा आश्रमकी सचिव निर्मला मल्लले विभिन्न व्यक्ति तथा संघसंस्थाहरूको सहयोगबाट आश्रम सञ्चालनमा सहज भइरहेको बताइन्।