


काठमाडौ, ६ असोज । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा अब मन्त्री नबन्ने पक्का भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको हो।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्रालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा सूचना पाएपछि उनको नाम ‘होल्ड’ गर्न भनिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।
खरिद प्रक्रियामा संलग्न रहेको समाचारसमेत सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन्। यी सबै कारणले अन्ततः उनको नाम अन्तिम सूचीबाट हटाइएको स्रोतले जनाएको छ।
यसबाहेक, “आइ एम संगीता मिश्र, आइ एम कम फ्रम नेपाल, बेसिकली बट आइ एम नाटिभली फ्रम इन्डिया…” भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि थप आलोचना बढेको छ।
प्रधानमन्त्री कार्कीले आइतबार स्वास्थ्य मन्त्रीसँगै अन्य मन्त्रालयका लागि पनि नाम सिफारिस गरेकी थिइन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, कृषि मन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरिएको थियो। सिफारिस ढिलो गरी भएकोले आजलाई दिउँसोलाई शपथ सारिएको थियो, तर त्यही बिचमा स्वास्थ्य मन्त्रीको विवाद आएसँगै उनको रोकिने भएको जनाइएको छ ।
डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। यसअघि उनी स्वास्थ्य सचिव बन्न नपाएको असन्तुष्टिमा करिब ६ महिना लामो बिदामा बसेकी थिइन्। गत फागुनमा वरिष्ठता मिचेर डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएको भन्दै उनले सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन्। (प्रशासन डटकमबाट)