आँबुखैरेनीका कृषक मादले काँक्रो खेतीतर्फ आकर्षित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका कृषक मादले काँक्रो खेतीतर्फ आकर्षित

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    दमाैली, २३ असाेज । यहाँको आँबुखैरेनीका कृषकले मादले काँक्रो विक्री गरी रु छ लाख भन्दा बढी आम्दानी गरेका छन् । विगतका वर्षहरुमा मादले काँक्रोले बजार नपाउने समस्या रहेपनि यस पटक भने कृषकले काँक्रो गरी मनग्य आम्दानी गर्न सफल भएका हुन् । यहाँका छ वटा कृषक समूहमा आबद्ध कृषकले मादले काँक्रो विक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् ।

    मादले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि कृषक खुसी भएका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले मादले काँक्रो विक्री गरी रु ४० हजार पाँच सय आम्दानी गरे । उनले ५० बोट काँक्रो खेती गरेका छन् । काँक्रोले बजार नपाउँदा विगतमा कुहिएर जाने गरेको समस्या सुनाउँदै उनले अहिले भने काँक्रो धमाधम विक्री भइरहेको बताए ।

    उनले भने, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रुपमा काँक्रो विक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।”

    सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार पाँच सय, तुलबहादुर गुरुङले रु १२ हजार पाँच सय, सङ्गीता गुरुङले रु ४५ हजार पाँच सय, लालश्री गुरुङले रु ४५ हजार पाँच सय, तेजबहादुर गुरुङले रु २० हजार पाँच सय, डिलुमाया गुरुङले रु १२ हजार पाँच सय, रत्नमाया गुरुङले रु १४ हजार पाँच सय, सीता गुरुङले रु नौ हजार पाँच सय, रजमाया गुरुङले रु दश हजार पाँच सय, फूलमाया गुरुङले रु ३५ हजार पाँच सय, धनमाया गुरुङले रु १५ हजार पाँच सय, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो विक्री गरेका छन् ।

    छिम्केश्वरी कृषक समूहमा आबद्ध कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो विक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार हाटबजार लाग्ने गरेको छ । आफूहरुले उत्पादन गरेको मादले काँक्रो हाटबजारबाट विक्री भएको उनले सुनाए । उनले भने, “जति उत्पादन हुन्छ बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौ र त्यसतर्फ झन आकर्षित भएका छौ ।”

    यहाँका कृषकले करिब पाँच हजार पाँच सय केजी मादले काँक्रो उत्पादन गरी विक्री गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माइ छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो विक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएको केसीले उल्लेख गरे ।

    केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा अहिले कृषक मादले काँक्रो खेतीमा आकर्षित भएका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचे अनुरुप उत्पादन हुन सकिरहेको थिएन । तर गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीको रुपमा राखेर यसको प्रबद्र्धनमा जोड दिएको केसीको भनाइ छ ।

    उनले भने, “यस वर्ष दुई वडाका ४४ जना कृषकले ५.५ मेट्रिक टन काँक्रो उत्पादन गरेर विक्री गर्न सफल हुनुभयो । हाटबजारबाट काँक्रो बजारीकरण हुँदा कृषक उत्साहित हुनुका उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ ।” विगतमा मादले काँक्रो उत्पादन भएपनि मुख्य समस्या बजारीकरण भएपछि गाउँपालिकाले हाटबजारमार्फत् काँक्रो विक्री गर्ने व्यवस्था मिलाएको केसीले बताए ।

    आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर विक्री गर्न पाउनेछन् ।