आज हरिबोधनी एकादशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज हरिबोधनी एकादशी

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८२, शनिबार

    काठमाडौँ, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । 

    प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । 

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।