


बिहार, ४ मंसिर । बिहारमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता चुनिएका नितिश कुमारले आज बिहीबार पटनामा मुख्यमन्त्रीको सपथ लिँदै छन्।
७४ वर्षीय नितिश कुमार दसौं पटक बिहारका मुख्यमन्त्री बन्न लागेका हुन्। पटनाको ऐतिहासिक गान्धी मैदानमा साढे ११ बजे सपथ ग्रहण समारोह आयोजना हुँदैछ।
सन् २००५ देखि अहिलेसम्म नितिश कुमारले गान्धी मैदानमै तीन पटक मुख्यमन्त्रीको सपथ लिइसकेका छन्। उनी यसपालि चौथो पटक यही स्थानबाट पदबहाली गर्दैछन्।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतका दर्जनौं उच्च अधिकारी सहभागी हुने कार्यक्रम छ। यसका लागि गान्धी मैदानमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। यहाँ २ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुने छन्।
एक वरिष्ठ भाजपा नेताका अनुसार, समारोहमा तीन लाखभन्दा धेरै मानिस उपस्थित हुने अनुमान गरिएको छ।
हालै सम्पन्न विधानसभा चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेपछि नितिश कुमारले करिब दुई दशकदेखि चलाउँदै आएको नेतृत्वलाई निरन्तरता दिन लागेका हुन्। उनले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर गभर्नर अरिफ मोहम्मद खानलाई भेट्दै एनडिए सरकार गठनको दाबी पेस गरेका थिए।