गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै बेलचौतारा पुलिस स्कूल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै बेलचौतारा पुलिस स्कूल

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८२, सोमबार

    दमौली, ८ मंसिर । नेपाल पुलिस स्कूल बेलचौतारा तनहुँले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मंसिर १७ गतेदेखि २१ गतेसम्म विद्यालयले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    विद्यालयले स्थानीय क्षेत्रका विद्यार्थीहरूलाई खेलमार्फत शारीरिक, मानसिक तथा सामाजिक विकासमा सशक्त बनाउने लक्ष्य राख्दै हरेक वर्ष विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि पनि विद्यालयले विद्यालयस्तरीय खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको र यस वर्षको प्रतियोगिताले त्यसलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरिएको छ।

    प्रतियोगितामा गण्डकी प्रदेशभित्र रहेका कक्षा १० सम्म अध्ययनरत १६ वर्ष मुनिका विद्यार्थीहरूले सहभागीता जनाउन पाउनेछन् ।

    सो प्रतिस्पर्धामा १६ विद्यालयको सहभागिता रहनेछ, जसमा पहिलो प्राथमिकता तनहुँ जिल्लाका विद्यालयलाई दिइनेछ। विद्यार्थी परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र तथा पछिल्लो त्रैमासिक परीक्षाको अंकपत्र प्रस्तुत गर्ने शिक्षार्थी मात्र प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    ११–ए–साइडको प्रारूपमा नकआउट चरणमार्फत प्रतियोगिता सञ्चालन गरिने योजनाबारे विद्यालयले जानकारी दिएको छ। खेलहरू प्रमाणित रेफ्री तथा खेल अधिकृतहरूको निर्देशनमा सञ्चालन गरिनेछ, जसले खेलको स्वच्छता र निष्पक्षता सुनिश्चित गर्नेछ।

    आयोजकले खेलकुद अनुशासन तथा सुरक्षाका मापदण्डलाई कडाइका साथ पालन गरिने उल्लेख गरेको छ।

    प्रतियोगितामा विजेता टोलीले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेताले २५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछ।

    साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा उदाउदो खेलाडी सम्मान गर्न छुट्टाछुट्टै नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ। पुरस्कार व्यवस्थाले सहभागी खेलाडीलाई उत्साहित गर्ने र भविष्यमै उच्चस्तरीय खेलमा प्रतिस्पर्धा गर्ने प्रेरणा दिने विश्वास आयोजकले गरेको छ ।

    विद्यालयका अनुसार, यस प्रतियोगिताले विद्यालय तहमा फुटबलको गुणस्तर वृद्धि गर्नुका साथै ओझेलमा रहेका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्नेछ। साथै, गण्डकी प्रदेशभित्र अन्तर–विद्यालय खेलकुद संस्कृतिको विस्तारमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    आयोजकले प्रदेश तथा आसपासका विद्यालय, प्रशिक्षक, विद्यार्थी, अभिभावक र खेलप्रेमीहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।