


दमौली, १३ मङ्सिर : रोट¥याक्ट क्लव अफ दमौलीले क्लवका संस्थापक सहसचिव स्व. सचिन श्रेष्ठको स्मृतिमा आज दमौलीमा रक्तदान कार्यक्रम गरेको छ । क्लवले नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा व्यास नगरपालिका–३ प्रशासनचोकमा रक्तदान कार्यक्रम गरेको हो ।
प्रदेश अस्पताल दमौलीमा सहज रुपमा रगतको आवश्यकता पूरा गर्ने उद्धेश्यसहित क्लवले रक्तदान कार्यक्रम गरेको क्लवका अध्यक्ष गोविन्द तिमिल्सिनाले जानकारी दिए । रक्तदान कार्यक्रमबाट १६ पिन्ट रगत सङ्कलन भएको छ ।
क्लवका संस्थापक सहसचिव स्व. श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्ने उद्धेश्यसहित क्लवले प्रत्येक वर्ष रक्तदान गर्दै आइरहेको उनले बताए । तिमिल्सिनाका अनुसार स्व. श्रेष्ठको स्मृतिमा आज र भोलि देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले धेरै दानमध्ये रक्तदान महत्वपूर्ण रहेको बताए । क्लवले स्व. सचिन श्रेष्ठको स्मृतिमा सामाजिक काम गरेर उनलाई जीवन्त राख्न सहयोग गरेको गौतमले चर्चा गरे ।
क्लवको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा वीरगञ्जमा बस दुर्घटनामा परी श्रेष्ठको निधन भएको थियो । क्लवले हरेक वर्ष सचिनको स्मृतिमा दौड र रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
क्लवले स्थापनाकालदेखि नै सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासका लागि विविध कार्यक्रम गर्दै आइरहेको छ । क्लवले युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासका लागि युवा लक्षित प्रशिक्षण, दमौली कारागारलाई सुधारगृहको अवधारणा अनुसार सञ्चार सामग्री वितरण, वातावरणीय सरसफाई, वृक्षारोपण, रक्तदान, खेलकुद तथा पर्यटनलाई महत्व दिँदै दमौली छाब्दी सचिन स्मृति दौड गर्दै आइरहेको छ ।
