


काठमाडौ, १४ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसमक्ष १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अनतर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।
कर्णालीका लागि गुल्शन झा अर्धशतक प्रहार गर्नबाट एक रनले चुके । २२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ४९ रन प्रहार गरे । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।
पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सम्मानजनक स्कोर तयार पारेको हो । खेलको पहिलो बलमै करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।
निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा बनेको छ । चार खेल खेलेर दुई अंक मात्रै जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग चार विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको जित निकालेको थियो ।
तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।
पाँच खेल खेलिसकेको काठमाडौं ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हारको सामना गरेको काठमाडौं चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले विजयी भएको हो । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाडौं आजको खेलमा उच्च मनोबलसहित उत्रिँदैछ ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ।