पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण, दुई सय ११ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण, दुई सय ११ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    दमौली, १३ पुस । दमौलीमा शनिबार आयोजित एक कार्यक्रममा महिलाहरूको आँखामा डर होइन, आशा झल्किन्थ्यो । किनकि त्यहाँ उनीहरूको जीवनसँग प्रत्यक्ष जोडिएको विषय, स्वास्थ्यलाई केन्द्रमा राखेर इनर ह्वील क्लव दमौलीले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको थियो ।

    घर–परिवार, जिम्मेवारी र समाजका अपेक्षाबीच आफ्नो शरीरलाई सधैं पछाडि राख्दै आएकी महिलाहरूका लागि यो शिविर आफ्नो स्वास्थ्यप्रति पहिलोपटक खुलेर ध्यान दिने अवसर बनेको थियो । कतिपय महिलाले पहिलोपटक जाँच गराउँदै मनको डर पोखेका थिए, त कतिपयले अब ढुक्क लाग्यो भन्ने सन्तोष व्यक्त गरेका थिए ।

    कार्यक्रममा सहभागी गण्डकी प्रदेशकी पूर्व सांसद सरिता गुरुङ स्वयं जाँचमा बस्नुले एउटा गहिरो सन्देश दियो, स्वास्थ्य सचेतना भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । उनले समयमै जाँच र रोकथाम भए क्यान्सर जस्तो रोग पनि जित्न सकिने बताइन् ।

    चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले दिएको सरल परामर्शले महिलाहरूको मनमा जमेको डर हटाइदिएको थियो । शिविरमा दुई सय ११ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा परीक्षण गरेकामध्ये चार जनामा समस्या देखिएको क्लवका अध्यक्ष सिर्जना घिमिरेले जानकारी दिइन् । त्यस्तै चार जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने पत्ता लागेको थियो ।

    बिपी मेमोरियल क्यान्सर अस्पतालका नर्सिङ अधिकृत सुनिता पौडेलले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान, रोकथामका उपाय तथा नियमित परीक्षणको महत्वको बारेमा प्रकाश पारिन् ।

    इनर ह्वील क्लव अफ दमौलीकी पूर्व अध्यक्ष निर्मला मल्लले महिला स्वस्थ हुनु भनेको परिवार र समाज स्वास्थ्य हुनु भएको उल्लेख गरिन् ।